२०८१ बैशाख १५ शनिवार

मोबाइल आयात अहिलेसम्मकै उच्च :आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा

मोबाइल आयात अहिलेसम्मकै उच्च :आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा
२०७८ जेठ ११ मङ्गलबार Author: kachapate

काठमाडौँ, जेठ ११ गते । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक २०७७/७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ ।

तुलात्मक रूपमा अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो ।  यसअघि आव २०७४/७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ । मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ ।चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै ‘रेकर्ड’ तोडिएको हो ।

उच्च सङ्ख्यामा मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ ।मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका छन् । मोबाइलपछि सबैभन्दा धेरै एलपी ग्यासको आयात भएको देखिन्छ । जुन २९ अर्ब ५१ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ ।

निर्यात एक खर्ब नाघ्यो
चालू आवको १० महिनामै नेपालको निर्यात एक खर्ब नाघेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहासमा एक खर्ब नाघेको पहिलो पटक हो । भन्सार विभागका अनुसार वैशाखसम्म नेपालले एक खर्ब आठ अर्ब रुपियाँभन्दा बढीको मालवस्तु निर्यात गरेको छ ।

वि. सं. २०६४ मा नेपालको निर्यात एक खर्ब पु-याउने सरकारको लक्ष्य करिब डेढ दशकपछि पूरा भएको हो ।गोरखापत्र