२०८१ बैशाख ११ मङ्गलबार

भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४०,००० जनाको मृत्यु

भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४०,००० जनाको मृत्यु
२०७९ फागुन ३ बुधबार Author: kachapate

गत साता गएको भूकम्पका कारण टर्की र सिरियामा झन्डै ४०,००० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुने मानिसको सङ्ख्या ३२,००० जति पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ५,७०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

राष्ट्रसङ्घले विपद्‌मा परेर मृत्यु हुने मानिसको सङ्ख्या बढेर दोबर हुनसक्ने चेतावनी दिएको छ।

राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग “सकिने क्रममा छ” र त्यहाँ अब उक्त ज्यान जोगिएका मानिसहरूको हेरचाह र पुनर्स्थापनामा ध्यान केन्द्रित गरिने छ।

राष्ट्रसङ्घका अनुसार अधिकारीहरूले आवास, खाद्यान्न अनि स्वास्थ्य सेवामा ध्यान केन्द्रित गर्न थालेका छन्।

यद्यपि त्यहाँ अझै केहीको जीवितै उद्धार भइरहेको छ।

आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो।

त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ।

थप दुइटा नाका खोल्न सिरिया सहमत

भूकम्पले उत्तरी सिरियामा ठूलो क्षति पुर्‍याएको छ।

त्यहाँ राहत सामग्री र अन्य सहायता वितरण गर्न दिन सिरिया सरकार थप दुईवटा नाका खोल्न सहमत भएको छ।

“यसबाट ठूलो फरक पर्नेछ। अहिले हामी केवल एउटा नाका प्रयोग गरिरहेका छौँ,” संयुक्त राष्ट्रसङ्घका महासचिवका एक प्रवक्ताले बीबीसीलाई बताए।

गृहयुद्धका कारण यसअघि ठूलो क्षति बेहोरेको सिरियामा भूकम्पपीडित मानिसहरू सहायता नपाएकाले निकै आक्रोशित भएका छन्।

बशर अल-असद नेतृत्वको सरकारले पश्चिमा देशले सिरियामाथि लगाएका प्रतिबन्धहरूका कारण उद्धारकार्य राम्ररी गर्न नसकिएको दाबी गरेको छ।

यद्यपि अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूले सिरिया सरकारमा विद्यमान अव्यवस्था र देशका सबै क्षेत्रमा काम गर्न उसको अनिच्छाका कारण समस्याहरू देखा परेको बताएका छन् ।

चुनौती

टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढाउने छ।

यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पुर्‍याउन दिन आग्रह गरेको छ।

सिरियाको गृहयुद्धको क्रममा एक दशकभन्दा बढी समयदेखि मानिसहरूलाई भग्नावशेषबाट बाहिर निकाल्ने कुरामा पोख्त ह्वाइट हेल्मेट सङ्गठनका अनुसार त्यहाँका सर्वसाधारणहरूले निराश अनि आफूहरूलाई बेवास्ता गरिएको महसुस गरेका छन्।

टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा ११३ जनालाई पक्राउपुर्जी जारी गरिएको छ।

नेपालले पनि पठायो सहयोग

यसैबीच भूकम्पबाट प्रभावित क्षेत्रमा नेपालले २२ टनभन्दा बढी अत्यावश्यक सामग्री पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले सोमवार औषधि, चिकित्सकीय सामग्री, न्यानो कपडा र अन्य अत्यावश्यक सामग्री पठाएको हो।

टर्किश एअरलाइन्सको उडानमार्फत् राहत सामग्री पठाइएको हो।

गत साता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको एक आकस्मिक बैठकले टर्कीलाई सहयोग गर्ने निर्णय गरेको थियो।

सन् २०१५ मा नेपालमा भूकम्प जाँदा टर्कीले नेपाललाई सहयोग गरेको थियो।

समाचार स्रोत: बीबीसी