देवराज जैशी
सुर्खेत,असार ११ गते । जाजरकोट राष्ट्रिय गौरबको आयोजनामा मध्य पहाडी पुष्पलाल लोकमार्गको पश्चिमी खण्ड अन्तर्गत जाजरकोटमा कालोपत्रे गर्ने काम शुरु गरिएको छ । अहिले पहिलो खण्डको कुदुदेखि कार्कीगाउँसम्म सडक कालो पत्रे गर्न थालिएको हो।
पुर्बपश्चिम यो लोकमार्गको कुल लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर रहेको छ । जसमध्य जाजरकोटमा ८२ किलोमिटर सडक पर्दछ । ८२ किलोमिटर मध्य पहिलो चरणमा कुदुुदेखि कार्कीगाउँसम्म ३५ किलोमिट सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ ।
२ बर्ष पहिले शर्मा सिंह एण्ड ब्रोदर्श कम्पनीले करिब १ अरब लागतमा कुदु —कार्कीगाउँ खण्डमा स्तरउन्नति र कालोपत्रे गर्न मध्यपडाडी आयोजनासंग ठेक्का सम्झौता गरेको थियो ।सम्झौता भएको २ बर्ष ६ महिनाको अबधिमा ८० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख विश्वास उप्रेतिका अनुृसार सम्झौता अबधि पहिले नै द्रुत गतिमा सडक निर्माणको काम गरे पनि अघिल्लो आर्थिक बर्ष र यो बर्ष विश्वब्यापी कोरोनाको प्रभाबले जटिलता सिर्जना गरेको छ ।
अहिले सडक निर्माणको काम मध्यपहाडी आयोजना योजना कार्यलय दैलेखको प्रत्यक्ष निगरानीमा भइरहेको छ । उक्त निगरानी रुकुम पश्चिमदेखि दैलेखसम्म भएको छ । कामको गुणस्तरीयता कायम गर्न आवश्यक प्राविधिक सल्लाहमा कालोपत्रे गर्ने काम भइरहेको आयोजनाका इन्जिनियर रबिन कार्कीले बताए । इन्जिनियर कार्कीले भन्छन् ,स्थलगत अनुगमन र निरिक्षणका साथ काम भइरहेको र मौसमि प्रतिकुलता र स्वास्थ्य सम्बेदनशिलता सबै हेरेर काम गर्नु पर्ने बाध्यता रहेकोले भनेजस्तो काममा गति दिन भने सकिएको छैन ।
मध्यपहाडका २३ जिल्लालाई पूर्ब पश्चिम जोड्ने यो लोकमार्ग निर्माणको कामले अहिले जाजरकोटमा पनि तिब्रता पाएको छ । कुदु — कार्कीगाउँसम्म ३५ किलोमिटर कालोपत्रे गर्ने काम आउदो असोजसम्म सम्पन्न गर्ने गरी कम्पनीले आयोजनासंग सम्झौता गरेको हो । अघिल्लो बर्ष र यो बर्षको लकडाउनले सडक निर्माणको काममा बाधा भएको पनि कम्पनीले जनाएको छ ।प्रतिकुल परिस्थितिमा पनि सकड निर्माणको काम कम्पनीले गर्दै आएको छ । मौसमि प्रतिकुलता र जिल्लामा निषेधाज्ञाको समयमा पनि सडक निर्माणको कामले गर्दा ६ सय मजदुरहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।
नेपाल सरकारले ७० लाख जनतालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको यो लोक मार्गको निर्माणले जाजरकोटमा पनि आय आर्जन, रोजगारी बृद्धि , बसाइ सराइ नियन्त्रण र सर्भिस सेन्टरहरु नजिक हुने बिश्वास लिएको छ । त्यसैगरी आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकास पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।