२०८० चैत १६ शुक्रबार

सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन काठमाडौंमा हुँदै

सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन काठमाडौंमा हुँदै
२०७९ फागुन १ सोमबार Author: kachapate

काँचापाते सम्बाददाता, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशन काठमाडौंमा हुदैछ । यहि फागुन २ देखि ४ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न हुन गइरहेको महाधिवेशनको तयारी पूरा भैसकेको बताइएको छ । “निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, प्रगतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त महाधिवेशनमा देशैभरि बाट प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ ।

अनेरास्ववियुको विधानअनुसार हरेक दुई वर्षमा हुनुपर्ने महाधिवेशन २०७२ साल पछि विभिन्न कारणले सात वर्षमा आयोजना गर्न लागिएको हो । महाधिवेशनले अध्यक्ष सहित चार जना उपाध्यक्ष, एक महासचिव, दस सचिव र एक कोषाध्यक्ष लगायत ६७ सदस्यीय सचिवालय र १३२ जना केन्द्रीय सदस्य गरि कूल १९९ सदस्यहरूको चयन गर्नुका साथै संगठनको नीति, रणनीति तथा भावि कार्ययोजना समेत पारित गर्नेछ । हाल महाधिवेशन आयोजक कमिटीमा रहेका ५०९ जना र विभिन्न कमिटीहरू बाट प्रतिनिधित्व गरि आउने प्रतिनिधिहरू मध्ये नै सहमतीय वा प्रतिस्पर्धात्मक माध्यमबाट अखिलको भावि नेतृत्व चयन हुने भएकोले नेतृत्वका लागि धेरै आकांक्षीहरू रहेको र प्रतिस्पर्धा रोचक हुने संकेत देखिएको छ ।

अध्यक्ष पदका लागि अछामका मोति बिक, काभ्रेका समिक बडाल, गोरखाका आरसी लामिछाने, बर्दियका झपेन्द्र खत्री, सुनसरीका लोकेश निरौला, प्युठानका धर्म गिरी, उमेश आचार्य र वाङ्छु योन्जन, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन सिवाकोटी, कल्पना वाइवा र गोविन्द गिरी, उपाध्यक्षमा तपेन्द्र शाही, मर्यादा विष्ट, प्रकाश भुजेल, सचिवमा धुपेन्द्र बहादुर शाही, प्रेम खड्का, गोविन्द थपलिया, घनश्याम पुन, धिरज जैशी, संजय दवाडी, मनोज चामलिङ लिम्बू, दिपेश प्रसाईं, अन्जू पाण्डे, अन्जना सिवाकोटी, प्रकाश भुजेल, सरोज पोखरेल, संगम अर्याल, सजिना थापा मगर, रक्षा बम, बिरेन्द्र रावल, संजिब धिताल, रिता ढकाल, मदन विष्ट, प्रकाश पौडेल, आशिर्वाद सुवेदी, सागर भट्ट, मोहित शाह लगायत करिब पचास जना भन्दा बढी नेताहरूको दावी रहेको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य धुपेन्द्र बहादुर शाहीले बताए ।

हाल शैक्षिक क्षेत्रमा विभिन्न समस्या तथा चुनौतिहरु रहेका छन । शिक्षाको विकास र विद्यार्थीहरुको हकहितमा काम गर्ने आधिकारिक निकायका रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकिरहेको छैन, शिक्षामा चरम व्यापारिकरण र शोषण व्याप्त छ, निम्न वर्गको प्राविधिक तथा उच्च शिक्षामा पहुँच पुग्न सकेको छैन, शिक्षामा धनि र गरिव विचको विभेदको खाडल गहिरिंदै गैरहेको छ, उच्च शिक्षाका नाममा वर्षेनी ठूलो धनराशी र प्रतिभावान युवाको विदेश पलायन काहाली लाग्दो रहेको छ, प्रमुख राजनीतिक दलसँग निकट रहेका दुई विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीको पनि समयमा अधिवेशन हुन नसकी नेतृत्व छनोटमा टिके प्रथाले नै निरन्तरता पाइरहेको र अनेरास्ववियुको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने वैधानिक व्यवस्था भए पनि २०७२ साल पछि यस पटक सात वर्षमा हुन गैरहेको महाधिवेशनले चयन गर्ने नेतृत्व र नीतिप्रति सबैको चासो रहेको देखिन्छ ।

महाधिवेशनमा अध्यक्ष पदका दावेदार मध्येका एक मोति बिक आफु दुर्गम क्षेत्र र आम दलित समुदायकै प्रतिनिधित्व गर्ने भएकोले यस पटक अनेरास्ववियुको गौरवशाली इतिहासमा अर्को नयाँ आयाम थप्न र स्वर्णीम इतिहास रच्नका लागि आफ्नो दावेदारी रहेको बताउँछन । उनी भन्छन, “शिक्षामा विभेद रहेको छ, जनतामा राजिनीतिक प्रणाली प्रति व्यापक असन्तुष्टी र निराशा छ, शिक्षा जीवनोपयोगी र व्यवहारिक छैन । यी आम समस्याहरुको समाधान गर्ने संगठन अनेरास्ववियु हो र यसको नेतृत्वमा म पुगें भने संगठनलाई गतिशील र प्रभावकारी ढंगले हाँक्न सक्छु ।  मैले मेरो लामो समय यो संगठन निर्माणमा लगाएको छु, विद्यार्थीका समस्या बुझेको छु । म यो पार्टीको पुँजी बन्न सक्छु।”  उनी अगाडी थप्छन,  “समृद्ध नेपाल र सुखी नेपाली भन्ने भिजनको पक्षमा म पहल र पैरवी गर्न चाहन्छु । न्याय, समानता र  मूल्यांकनका आधारमा म मोति बिकलाई अमुल्य मत दिई जिताउनहुन सम्पूर्ण प्रतिनिधि साथीहरुलाई आग्रह गर्दछु ।”

महाधिवेशनमा महासचिब पदका उम्मेद्वार नारायण घर्ती महाधिवेशनले आम विद्यार्थीहरुको मनोभावना समेट्ने गरी,  नेपालको शैक्षिक आन्दोलनलाई थप उचाइमा पुर्याउन सक्ने नेतृत्व निर्माण गर्ने बताउँछन ।

उनी भन्छन, “अहिले नेपालमा द्वैद शिक्षा प्रणाली रहेको । हुँदा खाने र हुनेखाने वर्गका लागि रहेको दुईखालको शिक्षा नीतिलाई तोडेर समान र विभेदरहित शिक्षा नीति हुन जरुरी छ । यसका लागि अगुवाई गर्ने क्षमता भनेको अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनसँग छैन । विश्व बजारमा पर्तिश्पर्धा गर्न सक्ने शिक्षा प्रणाली निर्माण गर्न, निःशुल्क र ब्यवसायिक शिक्षा  नीति निर्माण गर्न सक्ने नेतृत्व र प्रणाली विकास गर्ने उद्देश्य यस महाधिवेशनको रहेको छ।”

हाल अनेरास्ववियुको महाधिवेशन आयोजक कमिटी ५०९ सदस्यीय रहेको र महाधिवेशनबाट जम्मा १९९ सदस्यीय केन्द्रिय कमिटी निर्माण गर्नुपर्ने भएकोले नेतृत्व चयनको विषय चुनौतिपूर्ण रहेको अध्यक्ष पदका  उम्मेद्वार मोति बिकले बताए  । उनले भने, “लामो समयदेखि महाधिवेशन नभएका कारण नेतृत्वको जाम रहेको छ। धेरै ठुलो संख्यामा योग्य र अनुभवी साथीहरु नेतृत्वको लागि आकांक्षी हुनुहुन्छ। योगदान र क्षमताका आधारमा संगठनको नेतृत्वमा १९९ जना साथीहरु चयन गर्ने र बाँकि क्षमतावान साथीहरुलाई आवस्यकता र औचित्यका आधारमा पार्टीका अन्य संगठन कमिटीहरुमा जिम्मेवारी दिने गरि योजना बनाएका छौं” महासचिव पदका आकांक्षी नारायण घर्तीले पनि पार्टीका नेतृत्वसँग समन्वय गर्ने र कुनै पनि सक्षम साथीहरुलाई कमिटी बिहीन र जिम्मेवारी बिहीन हुने स्थिति  नबन्ने बताए ।

महाधिवेशनमा सचिव पदका दावेदार रहेका गोविन्द थपलियाले यो अधिवेशनमा अनेरास्ववियुको अर्जुनदृष्टि स्ववियु निर्वाचनमा रहेको वताए । उनले भने,”हाम्रो अर्जुनदृष्टि आगामी स्ववियु निर्वाचन हो । यसका अलावा ग्लोवलाइजेसनको यस युगमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा नीति र पाठ्यक्रम हाम्रो प्रथमिकता हुनेछ।”  थपलियाले अनेरास्ववियु पार्टी र सरकारको जस्तोसुकै कामको पनि पक्षपोषण गर्ने आज्ञाकारी संगठन मात्र नभएर खबरदारी गर्ने प्रतिपक्षका रूपमा समेत रहने वताए । देशको शिक्षा क्षेत्र सुधारको आवस्यकता र विद्यार्थीको मागलाई मध्यनजर गरि आफ्नो दावेदारी सचिव पदमा रहने बताए । उनले भने, “अखिललाई पुनर्जागरण गराई पुरानो विरासत फिर्ता गर्ने, शैक्षिक विकृतिलाई परास्त गर्ने र बदलिदो समय सँगै हिंड्न सक्ने नेतृत्व र सबल संगठन निर्माणका लागि मैले पदाधिकारीमा आफ्नो दावेदारी पेश गर्नेछु ।”

अनेरास्ववियु सचिव पदका अर्का दावेदार, कर्णाली प्रदेश कमिटी सचिव समेत रहेका धुपेन्द्रबहादुर शाहीले देशैभरी बाट करिब पन्ध्र सय भन्दा बढि प्रतिनिधीहरु महाधिवेशनमा सहभागी हुन आउने भएकाले तिनिहरुको खाना,  आवास र यातायात जस्ता सुविधाको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताए । उनले भने, “यी प्राविधिक समस्याहरुलाई व्यवस्थापन गर्ने गरी तयारी भैरहेको छ । देशमा शैक्षिक क्षेत्रमा रहेका बेथिती र विकृतिहरुको अन्त्य गरि सर्वसुलभ शिक्षाका लागि अगुवाई गर्दै आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको रक्तरञ्जित झण्डा फहराउने र शिक्षामा रहेको विभेदको अन्त्यका लागि लडिने लडाइँको नेतृत्व लिनका लागि मेरो सचिव पदमा उम्मेद्वारी रहेको छ।”

अनेरास्ववियुका सचिवालय सदस्य तथा महाधिवेशनमा सचिव पदका अर्का दावेदार  प्रेम खड्काले आम विद्यार्थी नेता कार्यकर्ताहरुको केन्द्रिय पार्टी नेतृत्वप्रति व्यापक गुनासो रहेको बताए । उनले भने,”सात वर्षदेखि महाधिवेशन हुन नसक्दा योग्यता र योगदान भन्दा पनि यो वा त्यो ढंगले आफु निकट र बफादार पात्रहरुलाई नेतृत्व सुम्पिने प्रथाले अनेरास्ववियुमा वेथिति निम्त्याएको छ।  चाकडी र चाप्लुसीका आधारमा भद्दा कमिटि निर्माण भएकोले अनेरास्ववियुको गरिमा र महत्व नै धरापमा परेको छ। अनेरास्ववियुको गरिमा र अस्तित्व बचाउने हो भने निर्वाचन नै एक मात्र विकल्प हो र सो का लागि मैले केन्द्रिय कमिटी सचिव पदका लागि उमेद्वारीको घोषणा गरेको छु।” उनले अगाडी थपे, “विधान सम्मत नियमित रुपमा महाधिवेशन भएको भए सबै साथीहरुले नेतृत्वको अवसर पाइसक्ने थिए ।  म आफै पनि केन्द्रिय अध्यक्ष भएर विदा भैसक्ने अवस्था हुन्थ्यो तर अहिले नेतृत्वको लामो जाम रहेको छ ।”

महाधिवेशनको उद्घाटन यहि फागुन दुई गते मंगलबारका दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ ।