२०८१ बैशाख १५ शनिवार

प्रतिनिधि सभा विघटन, आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन

प्रतिनिधि सभा विघटन, आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन
२०७८ जेठ ८ शनिवार Author: kachapate

काठमाडौँ, ०८ जेठ। मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचनको घोषणा हुनेछ। शुक्रबार मध्यरातमा राष्ट्रपतिले सरकार गठनका लागि परेका दुवै दाबी खारेज गरिदिएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो ।

फागुन २३ मा सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो। यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्‍वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए।

संविधानको ७६(१) अनुसार बहुमतप्राप्त दलको प्रधानमन्‍त्रीको हैसियतमा रहेका ओली नेकपाको एकता बदर गर्ने सर्वोच्चको फागुन २३ को फैसलापछि संविधानको ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतीय प्रधानमन्‍त्रीमा परिणत भएका थिए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ओलीले गत वैशाख २७ गते संसद्‌बाट विश्‍वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए।

राष्ट्रपतिले ७६(२) अनुसार बहुमतीय सरकारको गठन गर्न दलहरूलाई मौका दिए पनि त्यो संभव नभएपछि संविधानको धारा ७६(३) अनुसार संसद्‌मा रहेको ठूलो दलको हैसियतले पुन : प्रधानमन्‍त्रीमा नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर नियुक्त भएको एक हप्ता पनि नबित्दै विश्‍वासको मत लिने वातावरण नरहेको भन्दै बिहीबार ओलीले ७६(५) अनुसार सरकार गठनको प्रक्रिया थाल्‍न राष्ट्रपतिलाई आग्रह गरेका थिए। त्यही आग्रहअनुसार राष्ट्रपतिबाट पनि तत्कालै सूचना जारी भएको हो। अन्नपुर्ण पोस्ट दैनिक