२०८१ बैशाख २६ बुधबार

निषेधाज्ञामा थप कडाइ [प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ सहित]

निषेधाज्ञामा थप कडाइ [प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ सहित]
२०७८ बैशाख २० सोमबार Author: kachapate

काठमाडौँ ,वैशाख २० गते सोमबार— प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह सुझाबको आधारमा निषेधाज्ञालाई थप कडा गर्न लागिएको बताउनुभयो ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले चालेका कदमबारे जानकारी गराउनुका साथै नागरिकलाई कोरोना माहामारीबाट सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
२० वैशाख २०७८
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
– एक वर्षअघि यसै समयतिर हामीहरू कोभिड– १९ को प्रारम्भिक असर भोग्दै थियौँ । मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यहीअनुरूप योजनाहरू बनायौँ । एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवनरक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौँ ।
– यस सफलताका लागि महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मीसहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीको भूमिका उल्लेखनीय रह्यो । त्यस असामान्य घडीमा संक्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु ।
– अहिले हामी कोभिड– १९ महामारीको दोस्रो लहरको सामना गर्दै छौँ । कोभिडको यो लहर नयाँ स्वरूपमा थप घातक रूपमा देखापरेको छ । संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्यांकलाई उदाहरणको रूपमा लिँदा, पिसिआर परीक्षण गरिएका १६ हजार सात सय ७० केसमध्ये झन्डै ४३ प्रतिशत अर्थात् सात हजार दुई सय ११ मा संक्रमण देखिएको छ ।
– हिजो साँझसम्म कुल संक्रमित संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । कुल संक्रमितमध्ये निको भएका संक्रमित ८४।५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४।५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०।९९ प्रतिशत छ । ३० जिल्लामा दुई सयभन्दा बढी र १५ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड संक्रमित रेकर्ड भएका छन् । वैशाख १९ गतेसम्मको कुल संक्रमितमा ३८।४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०।४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् ।
– यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– हालसम्म तीन हजारभन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– गत वर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पिसिआर परीक्षण ल्याब संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पिसिआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्न सक्ने स्थितिमा पु¥याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण र केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ ।
– अप्ठ्याराकै बीचमा हामीले कोभिड– १९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेका छौँ । आफ्ना देशवासीलाई कोरोनाविरुद्ध खोप लगाउनेमा हामी दक्षिण एसियामै भारतपछि पहिलो मुलुक हौँ । हालसम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइसकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झन्डै तीन लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मीलगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।
– मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैmँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।
– त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवं प्रभावकारी ढंगले कोभिडविरुद्धको लडाइँकार्य अघि बढाउन प्रदेश केन्द्रित हुने गरी अहिले नेपाल सरकारका एक–एकजना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ ।
– संक्रमणको साङ्लो चुँडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एक हदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरूको सल्लाहअनुसार केही अवधिका लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।
– यही २०७८ वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– २०७८ वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ ।
– स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमानाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
– भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनेछ । सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको छ ।
– स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिनेछ । कोही संक्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ ।
– प्रत्येक स्थानीय निकायले नेपालबाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ ।
– सरकारी तथा अन्य कार्यालयमा एकचौथाइ कर्मचारीबाट कार्यसम्पादन गराउन सुरु गरिएको छ । अत्यावश्यकबाहेक अन्य कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहनेछन् ।
– नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।
– वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ ।
– प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् ।
– सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटेल, कारखाना, गोदामघरलगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ ।
– सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ ।
– ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिनेछ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ ।
– कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ ।
– स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड– १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ ।
– जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी २४सै घन्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लंघन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।
– संक्रमणको साङ्लो तोड्नका लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ ।
– जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तरमन्त्रालय समन्वयमा काम गरिनेछ ।
दिदीबहिनी तथा दाजुभाइहरू,
– महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले,
– सकभर घरमै बसौँ, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔँ ।
– समयसमयमा साबुनपानीले हात धोऔँ वा स्यानिटाइजरले हात सफा गर्ने गरौँ ।
– भोजभतेर तथा पर्व घरमै मनाऊँ ।
– भौतिक दूरी कायम गरौँ, भिडभाडबाट टाढै रहौँ ।
– हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔँ ।
– चिकित्सक, विज्ञ तथा प्राविधिकहरूको सल्लाहलाई पालना गरौँ ।
– धैर्य गरौँ, संयमता अपनाऔँ ।
– सावधान होऔँ, तर आतंकित नहोऔँ ।
– गत वर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचेक्र्याइँले क्रमशः महामारी फैलिन बल पु¥याएको तथ्यलाई हामी सबैले मनन गरौँ । नभुलौँ, महामारीले कसैलाई पनि छाड्दैन ।
– अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ–सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालक–सहचालक, सफाइकर्मी एवं सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु ।
– राजनीतिक दलका नेता–कार्यकर्ता, सामाजिक संघसंस्था एवं प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्नसमेत आग्रह गर्दछु ।
धन्यवाद ।