२०८० मंसिर २३ शनिवार

काँग्रेस नेता कमलबहादुर शाह सुदुरपश्चिमको नयाँ मुख्यमन्त्री नियुक्त

काँग्रेस नेता कमलबहादुर शाह सुदुरपश्चिमको नयाँ  मुख्यमन्त्री नियुक्त
२०७९ माघ २६ बिहीबार Author: kachapate

धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस १९, माओवादी केन्द्र १० (सभामुख बाहेक), एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, र एक जना राप्रपा सांसदको समर्थनमा गठित एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको थियो । लगत्तै रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि रावलले अन्तिम दिनमा बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन्।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभइसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ।