२०८१ बैशाख ८ शनिवार

प्रचण्डको प्रपञ्च, सत्ता ठबन्धनमा संकटको संकेत

प्रचण्डको प्रपञ्च, सत्ता ठबन्धनमा संकटको संकेत
२०७९ माघ २२ आइतबार Author: kachapate

काँचापाते सम्बाददाता, काठमाडौं । तत्कालीन गठबन्धनबाट प्रधानमन्त्रीमा समर्थन नपाएपछि एकाएक बालकोटको बार्दलीमा पुगेर एमाले सहितको समर्थन पाएर सत्ता हात पारेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक महिना नपुग्दै फेरि पुरानै गठबन्धनमा फर्किने बाटोमा लाग्नुभएको छ।

पुसको १० गते प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको पहल र अन्य दलहरूको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको थियो । वहाँलाई संसदमा नेपाली काँग्रेसले समेत विश्वासको मन दिने वातावरण बाह्य शक्तिहरूले निर्माण गरे देखि नै यो सत्ता समिकरण कुनै पनि बखत फेरबदल हुन सक्ने आशंका गरिएको  थियोे । काँग्रेसले यहि बिचमा केपी ओलीले हाइज्याक गरेको गठबन्धन फिर्ता ल्याउने बताइरहेको छ भने भारत र अमेरिकाका उच्च अधिकारीहरूले पनि निरन्तर पहल गरिरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली नगर्ने प्रचण्डको अडानका पछाडि पनि काँग्रेस र अन्य शक्तिहरूको आड भरोसा रहेको बताइन्छ ।

यसैबीच रास्वपालाई ओली र प्रचण्डले मागेको दुई दिनको डेडलाइन सकिइ सक्दा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने वलीको प्रस्ताव समेत प्रचण्डले पन्छाउनु भएको छ। उच्चस्तरीय संयन्त्रका संयोजक वलीले शनिबार बालुवाटारमा पुगेर साँझ बैठक राखेर छलफल गर्ने प्रस्ताव राख्नुभएको थियो । तर प्रचण्डले संयन्त्रको बैठक राख्न मान्नुभएन । यसअघि रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीसँग भेटेर संयनबैठक बोलाउन आग्रह गर्नुभएको थियो । उच्चस्तरीय संयन्त्रको बैठक संयोजक ओलीले बोलाए पनि त्यसमा प्रधानमन्त्री सहभागी नभए त्यसको अर्थ हुन्न। प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठक बस्न नचाहे पछि उहाँ पुरानै गठबन्धनमा फर्कन चाहेको र आफुलाई प्रधानमन्त्री बनाउने दलहरूलाई धोका दिने चरणमा पुगेको अनुमान गरिएको एमालेका नेताहरूले बताएका छन् । माोवादी भित्र कृष्णबहादुर महरा, अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरीराजमणी पोखरेल लगायतका नेताहरू प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन काँग्रेसका नेताहरूसँग निरन्तर सम्बादमा रहेको बताइन्छ । काँग्रेसका नेताहरू पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र रमेश लेखक हरू पनि माओवादी नेताहरूका साथै प्रधानमन्त्री प्रचण्डसँग पनि सम्वादमा छन। राष्ट्रपति चुनाव अघि नै प्रचण्ड लाई काँग्रेसको जालमा पार्ने प्रयास भैरहेको टिप्पणी नेताहरूले गरिरहेका छन् भन्दै नेपाल प्रेसले यो समाचार लेखेको छ।