२०८० मंसिर २३ शनिवार

आज सहिद दिवस, विभिन्न कार्यक्रम सहित मनाइँदै

आज सहिद दिवस, विभिन्न कार्यक्रम सहित मनाइँदै
२०७९ माघ १६ सोमबार Author: kachapate

काँचापाते सम्वाददाता, काठमाडौं । आज माघ १६ गते देश र जनताकाे स्वतन्त्रता र मुक्तिका लागि बलिदानी दिने शहिदहरूको सम्झनामा शहीद दिवस मनाइँदैछ । सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्मान स्वरूप विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।

विसं २०१२ साल देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाइँदै आएको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।

मुलुकमा स्वतन्त्रताको माग गरेर आन्दोलन गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । यिनै चार शहिदहरूले शहादत प्राप्त गरेको अवधिमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूको सम्मानमा प्रत्येक वर्ष सहिद दिवस मनाउने गरिन्छ ।

यस दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको थियो ।

नेपालमा हालसम्म विभिन्न राजनीतिक आन्दोलनका क्रममा मारिएका करिव १२ हजारलाई सरकारले औपचारिक रुपमा शहीद घोषणा गरिसकेको छ ।