काँचापाते संवाददाता, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता बदर गरिदिएका निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
लामिछानेका निजी सचिव दिपक बोहराले उनले सर्वोच्चको आदेश बमोजिम पुनः नागरिकता लिएको बताए । विक्रम सम्वत् २०५० मा जारि भएको नागरिकको प्रमाणपत्र नम्बर नै उल्लेख गरिएको नागरिकता जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पुष्टि गरे ।
नागरिकता सम्वन्धी मुद्दामा सर्वोच्चले शुक्रबार अन्तिम फैसला गर्दै लामिछानेको नागरिकता अबैध रहेको ठहर गरे पछि उनको सांसद पद साथै उपप्रधानमन्त्रि र गृहमन्त्रि पद समेत ३२ दिन नवित्दै खारेज भएको थियोे । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा र सांसद पदका लागि निर्वाचन आयोगमा मनोनयन दर्ता गर्दा निर्वाचन आयोगमा पेश गरेको नागरिकताको प्रमाणपत्र सर्वोच्चले गैरकानुनी ठहर गरेको हुनाले उनले सो नागरिकता प्रमाणपत्रका आधारमा प्राप्त गरेका सम्पूर्ण पदबाट स्वत मुक्त भएका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेको र सर्वोच्चले नागरिकता बदर गरेर सांसद पद समेत गुमाए पछि लामिछाने शुक्रबारै गृह मन्त्रालयबाट बाहिरिएका थिए ।