२०८० चैत ६ मङ्गलबार

एमालेले आन्तरिक लोकतन्त्र नारायणीमा बगायो भन्नेहरूले नदेखेको पार्टी एकता

एमालेले आन्तरिक लोकतन्त्र नारायणीमा बगायो भन्नेहरूले नदेखेको पार्टी एकता
२०७८ मंसिर २२ बुधबार Author: kachapate

दल रावल
मंसिर २२,बुधवार । नेपाली कम्युनिस्ट आन्दोलनले करिब ७२ वर्ष पूरा गर्दा यसको मूल प्रवाहका रूपमा रहेको नेकपा ९एमाले० ले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न गरेको छ । विश्वमा समाजवादी आन्दोलनले ठूलो धक्का ब्यहोरिरहेको बेला पाँचौँ महाधिवेशनमार्फत २०४९ सालमा तत्कालीन महासचिव जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मौलिक कार्यक्रम प्रस्तुत गरे । जो विश्व सन्दर्भमा मार्क्सवादको रचनात्मक प्रयोग अनि नेपाली वाम–प्रगतिशील आन्दोलनको पथप्रदर्शक सिद्धान्त बन्यो ।

सामरिक महत्त्वको भौगोलिक अवस्थिति र कमजोर आर्थिक सामाजिक सामर्थ्य रहेको हाम्रोजस्तो मुलुकमा जबज एमाले पार्टीको मात्र मार्गदर्शक सिद्धान्त नभएर समग्र वाम–लोकतान्त्रिक आन्दोलनको मौलिक विचार बन्न पुगेको छ । जुन विचारले ०६२/०६३ को पुँजीवादी–जनवादी क्रान्तिको नेतृत्व मात्र गरेन, नेपालको आर्थिक सामाजिक रूपान्तरणको जबर्जस्त नेतृत्वसमेत गरिरहेको छ, गर्दै अगाडि बढ्दैछ ।

दशौँ महाधिवेशनको उद्घाटनसत्रको अपार जनसागरले के पुष्टि गर्छ भने नेपाली माटोमा जबजको सैद्धान्तिक स्वीकार्यता, नेपाली राजनीतिमा एमालेको अनिवार्य उपस्थिति र कसैले चाहे पनि नचाहे पनि अध्यक्ष केपी ओलीको नेतृत्व पुनर्पुष्टि गरिदिएको छ ।

जतिबेला एमालेले आफ्नो दशौँ महाधिवेशन आयोजना गर्दै थियो, त्यो बेला राष्ट्रिय राजनीति एमालेका लागि प्रतिकूल देखिँदैथियो । ओली नेतृत्वको सरकारलाई अदालतले ‘अतिशक्ति’ प्रयोग गरेर परमादेशबाट विस्थापित गरिदिएको थियो ।

वामपन्थी सरकार विस्थापित गर्दै वाम पार्टीहरूकै वैशाखी लगाएर कांग्रेसले पाँचदलीय गठबन्धनको सरकार चलाइरहेको छ । देशीविदेशी शक्ति केन्द्रहरू जन्मैदेखिको बल लगाएर पहिला नेकपा पछि एमाले पार्टी फुटाउने रणनीतिमा लागे र सफल पनि भए । यसखालको प्रतिकूल परिस्थितिका बाबजुद पनि एमालेले लोकतन्त्रमा हुने सबै खालका सकारात्मक अभ्याससहित आफ्नो दशौँ महाधिवेशन सफलताका साथ सम्पन्न गरेको छ ।

कठिन परिस्थितिमा कार्यकर्तालाई कसरी एक ढिक्का राख्ने, उनीहरूको मनोबल उठाएर पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासबाट कसरी शक्ति आर्जन गर्न सकिन्छ भन्ने त्यो एमालेबाहेकका राजनीतिक दलका लागि पनि उदाहरण बनेको छ ।

हुन त हाम्रो लोकतान्त्रिक संस्कार राम्रो छैन । राजनीतिमा जतिसुकै राम्रो काम गरे पनि प्रतिस्पर्धी वा अर्को विचारका व्यक्तिले राम्रो भन्न नसक्ने प्रवृत्ति छ । जोसुकैको किन नहोस्, राम्रो कुराबाट सिक्नुको सट्टा आलोचनामा मात्र रमाउने प्रवृत्ति छ । तर, सानातिना कमी कमजोरीका बाबजुद एमाले महाधिवेशन साँच्चिकै हेतिहासिक र प्रेरणादायक बनेको छ । त्यसले एउटा विशाल राजनीतिक अभियानको शंखघोष गरेको छ ।

गैरएमालेको एउटा पङ्क्तिले महाधिवेशनपछि एमालेमा नयाँ फुटको बीजारोपण हुन्छ भन्ने ठानेको थियो । नागरिक समाजका अगुवाहरू र कांग्रेस, माओवादी केन्द्र र एमालेबाट चोइटिएको समूह त्यो दिनको पर्खाइमा थियो । एमालेभित्र देखिएका तीनवटा भिन्न मनोविज्ञानका बीच सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्न खोज्नु अध्यक्ष ओलीको अभिभावकीय दायित्व थियो ।

ओलीलाई एमालेको नेतृत्वमा आउन आजको दिनमा पार्टीभित्र कुनै छुट्टै सहमति चाहिएको होइन, पार्टीभित्रका कमजोर धार र एकताको मनोविज्ञानलाई भावनात्मक रूपमा समेट्ने कर्तव्य मात्र अध्यक्ष ओलीले निर्वाह गर्नुभएको हो । एमालेले आन्तरिक लोकतन्त्र नारायणीमा बगाउन खोज्यो भनेर आलोचना गर्नेहरूले त्यो पाटो बुझ्दैनन् । किनभने, तिनले एमाले संगठनात्मक अराजकता र एकआपसको अन्तरद्वन्द्वमा अल्झिरहेको देख्न चाहन्थे ।

सर्वसम्मत र प्रतिस्पर्धाका दुवै बाटो खुला राखिएको महाधिवेशनलाई अलोकतान्त्रिक देख्नेहरू या त राजनीति बुझ्दैनन् वा अन्तरपार्टी संघर्षमा अल्पमत पक्षको संरक्षणको सवाल बुझ्दैनन् । पार्टी विभाजनको पीडा र तीनखाले मनोविज्ञान रहेको तत्कालीन अवस्थामा एमालेले जे गर्‍यो, अध्यक्ष कमरेड ओलीले जे गर्नुभयो, त्यो नै अहिलेको वस्तुगत आवश्यकता थियो । त्यो नै पार्टी हित र आवश्यकता थियो । सँगै, जेजति पदमा प्रतिस्पर्धा भयो, त्यो प्रतिनिधिको स्वतन्त्रता त छाडिएकै थियो । त्यसैले महाधिवेशनले सहमति र प्रतिस्पर्धाका दुवै विधिबाट परीक्षा उत्तीर्ण गरेको छ ।

खुला र बन्द दुवै सत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र अनुशासनलाई हेर्ने हो भने कुनै पनि अन्तर्राष्ट्रियस्तरका सम्मेलनभन्दा कम महसुस भएन । बन्दसत्रभित्र देखिएको नेतृत्वको शालीनता र प्रतिधिनिहरूको भद्र प्रस्तुति आफैँमा प्रशंसायोग्य थियो ।

विचार, व्यवस्थापन र नेतृत्व छनोटका सबै पक्षपाटालाई हेर्ने हो भने इतिहासमा अब्बल सावित भएको छ, चितवन महाधिवेशन । चितवनका जनता हुन् वा सौराहाका व्यवसायी, एमालेका आमकार्यकर्ता र उनीहरूको अनुशासनप्रति मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।

महाधिवेशनमा सहमति र प्रतिस्पर्धाका लोकतान्त्रिक अभ्यास कमरेड्ली ढंगले पूरा गरिए । यसबाट आन्तरिक रूपमा एमाले पार्टीमा एक उत्साह र एकताको भावना विकास भएको छ भने अन्य पार्टीलाई समेत चुनौतीपूर्ण उदाहरण प्रस्तुत गरेको छ ।

देशको सबैभन्दा ठूलो पार्टी र वाम लोकतान्त्रिक शक्तिहरूको मूल प्रवाह हो, एमाले । अब यसले लोकतान्त्रिक जगमा टेकेर राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको आधार तयार पार्दै समृद्धिको मार्गमा अगाडि बढ्नुको विकल्प छैन । जनआधारित कार्यकर्ता पार्टी हुनुका नाताले जनताको मन जित्दै पार्टी कार्यकर्तालाई राष्ट्रको समृद्धिमा स्वयंसेवक बनाउन आवश्यक छ । त्यो म्याण्डेट दशौँ महाधिवेशनले दिएको छ ।

पार्टी जीवनका अन्तरवस्तुहरूको समय सान्दर्भिक व्यवस्थापन गर्दै महाधिवेशनले राष्ट्रको नेता पार्टीका रूपमा अगाडि बढाउन दूरदर्शी नेतृत्वको छनोटसमेत गरेको छ । वैधानिक, वैचारिक र संगठनात्मक व्यवस्थाहरू प्रथम विधान महाधिवेशनबाट गरिसकेकाले विधानका केही प्रावधानहरूको संशोधनबाहेक मूलतः नेतृत्व निर्माणमा नै केन्द्रित रह्यो यो महाधिवेशन ।

अर्को उपलब्धि भनेको पार्टी समावेशी हुँदै जानु हो । ३३ प्रतिशतभन्दा बढी महिला सहभागितासहितको समावेशी कमिटी निर्माण भएको छ । एमालेसामु तेर्सिएका चुनौतीको सामना गर्दै महाधिवेशनले प्रस्तुत गरेका प्रमुख कार्यभारहरूको कार्यान्वयन गर्ने म्याण्डेट नेतृत्वले प्राप्त गरेको छ । एकातिर नेकपाजस्तो शक्तिशाली र एमालेजस्तो सांगठनिक अब्बलता भएको पार्टी विभाजित भएको छ । अर्कोतिर देशमा रहेका प्रायः सबै राजनीतिक शक्तिहरू गठबन्धनका नाममा एकल एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिने स्थिति बनेको छ ।

जनताको जनादेशअनुरूप सत्तामा रहेको एमाले परमादेशको गैरसंसदीय प्रक्रियाबाट प्रतिपक्षको भूमिकामा पुर्‍याइएको छ । जनताको लोकप्रिय मतसहितको नेपालको पहिलो राजनीतिक दल हुनुका नाताले पनि प्रतिपक्षकै भूमिकाबाट समेत संविधानको कार्यान्वयन, राष्ट्रियता र जनजीविकाका मुद्दाहरूमा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने दायित्व छ ।

२०७४ को स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमालेको पक्षमा प्राप्त लोकप्रिय मतलाई जोगाउँदै थप उपलब्धिका साथ यसअघि एमाले सरकारले सुरु गरेका राम्रा कामहरूको निरन्तरता एवं थप समृद्धिका एजेण्डाहरूको कार्यान्वयनमार्फत समाजवादका एथेष्ट आधार तयार पार्न आवश्यक छ ।

नेपाललाई राजनीतिक स्थिरताका माध्यमबाट सामाजिक न्यायसहितको समृद्धिको बाटोमा हिँडाउन सक्ने पार्टी एमाले र यसका नेता केपी ओली हुन् भन्ने कुरालाई एमाले महाधिवेशनमा उर्लिएको जनलहरले पुष्टि गर्छ । नेपालका कम्युनिस्ट पार्टीहरूको मूलधारा मात्र नभएर वाम–लोकतान्त्रिक शक्तिहरूका नेता र परिवर्तनको संवाहक पार्टी हुनुका नाताले पनि सबै शक्तिहरूबीचको सहकार्य र समन्वयको अग्रणी भूमिका निर्वाह गर्नु पनि आवश्यक छ ।

जबजको वैचारिक जगमा कम्युनिस्ट शक्तिहरूबीचको ध्रुवीकरण र स्वदेशी पुँजी निर्माणको जगमा उभिएर समृद्ध नेपाल बनाउने महान् लक्ष्यमा नेपालका सम्पूर्ण राजनीतिक दलहरूबीचको सहकार्यको नेतृत्वसमेत एमालेले गर्नुपर्नेछ । यति मात्र हैन, विश्वव्यापीकरणको वर्तमान विश्व साझेदारीलाई राष्ट्रहितमा प्रभावकारी रूपमा लागू गर्नु पनि त्यति नै आवश्यक छ ।

त्यसैगरी, विश्वमा चरम पुँजीवादले निम्त्याएको दलाल पुँजीवादको विकल्पमा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको रणनीतिक लक्ष्य हासिल गर्नु एमालेको अर्को प्रमुख दायित्व हुनेछ । यसका लागि प्रथमतः आफ्नै दलका माथिदेखि तलसम्मका सांगठनिक संरचनाहरूलाई पहिलेभन्दा अझ थप गतिशील र चलायमान बनाउन आवश्यक छ । पार्टीका भ्रातृ संगठनहरूलाई मुद्दा विशेष परिचालन गर्न र जनता र उत्पादनसँग जोड्न आवश्यक छ ।

पार्टी नेतृत्व र सरकारमा हुँदा सरकार प्रमुख र सदस्यहरूलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुको सट्टा अनुत्पादक ढंगबाट घेरेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ । त्यसैगरी, पार्टीबाट सरकारमा पठाइएका व्यक्तिहरू पनि पार्टीको घोषित नीतिभन्दा बाहिर स्वेच्छाचारी रूपमा सञ्चालन हुनबाट कडाइका साथ रोक्न आवश्यक छ । भूगोलमा खटिने र जनतासँग जोडिनेभन्दा विभिन्न नाममा अवसर लिने प्रवृत्तिलाई निरुत्साहित गर्न त्यत्तिकै आवश्यक छ । पार्टीमा पाको पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई मिलाएर एक गतिशील कम्युनिस्ट पार्टी निर्माण गर्न आवश्यक छ ।

नेपाली जनताले विश्वास गरेको पार्टी एमाले र नेतृत्व केपी ओली भएकै कारण पनि एमाले उदाहरणीय पार्टी बन्नु इतिहासको आवश्यकता र आजको अपरिहार्य माग हो । पार्टी जीवनमा देखिएका र प्रयोगबाट देखिँदै जाने यस खालका सबै सैद्धान्तिक र व्यावहारिक विषयहरूलाई दुईवटै महाधिवेशनबाट संलेषण गरिएको छ । पार्टीका विभिन्न तहमा देखिने अन्तरविरोधलाई वस्तुनिष्ठ तरिकाबाट हल गरी जनताबीच एमालेलाई थप स्थापित गर्दै जाने मार्गदर्शन गरेको छ महाधिवेशनले । बाँकी रहेका प्रदेश र जिल्लास्तरका अधिवेशनहरू केही समयभित्रै सम्पन्न गरी निर्वाचनको तयारीमा लाग्ने र निर्वाचनबाट अनुमोदित भएर सुखी नेपाली स् समृद्ध नेपालको महाअभियानमा होमिन थप प्रेरणा प्रदान गरेको छ यो महाधिवेशनले ।

लेखक रावल नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वमन्त्री हुन् ।