२०८१ बैशाख ८ शनिवार

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय
२०७८ श्रावाण ४ सोमबार Author: kachapate

काँचापाते अनलाईन ।
काठमाडौँ ,श्रावण ४ गते । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी द्रुत गतिमा काम गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले भने,‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’सञ्चारकर्मीहरुको एक अर्को जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, ‘अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरिएको छ ।’

नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाई सरकारले धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराइदिनका लागि खोप उत्पादक मित्र राष्ट्रलाई आग्रह गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।