२०८० चैत १६ शुक्रबार

भौतिक क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा झन्डै दुई अर्बको निर्जीवन बीमा माग दाबी

भौतिक क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा झन्डै दुई अर्बको निर्जीवन बीमा माग दाबी
२०७८ असार २५ शुक्रबार Author: kachapate

काँचापाते अनलाईन ।
काठमाडौँ, असार २५ गते । विभिन्न निर्जीवन बीमा कम्पनीमा एक अर्ब ९२ करोड तीन लाख रुपियाँभन्दा बढीको बीमा माग दाबी भएको छ । हालै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट भएको भौतिक क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकमको बीमा माग दाबी गरिएको हो ।

बीमा समितिले जनाए अनुसार गत बुधबारसम्म विभिन्न २० निर्जीवन बीमा कम्पनीमा सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमा शीर्षकअन्तर्गत ३३१ वटा बीमा माग दाबी गरिएको छ ।कुल बीमा माग दाबीमध्ये १४१ वटा सम्पत्ति बीमा माग दाबी रहेका छन् । यसका लागि जम्मा ६९ करोड ३६ लाख ४६ हजार रुपियाँको माग दाबी गरिएको छ ।

त्यस्तै ३३ वटा मोटर बीमाका लागि चार करोड ४५ लाख ८७ हजार रुपियाँ, पाँचवटा सामुद्रिक बीमाका लागि १९ लाख ८१ हजार रुपियाँ ,छवटा कृषि बीमाका लागि एक करोड ६२ लाख ५१ हजार रुपियाँको बीमा माग दाबी परेको छ भने पाँचवटा पशुपन्छी बीमाको एक करोड ५५ लाख ५१ हजार बीमा माग दाबी परेको छ । यसैगरी इन्जिनियरिङ बीमातर्फ बाढीपहिरोले क्षति पु(याएका १०७ वटा निर्माणाधीन आयोजनाको बीमाको माग दाबी ९० करोड साता लाख ३४ हजार रुपियाँ गरिएको छ । आठवटा निर्माण सम्पन्न आयोजनाको बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्टको आठ करोड ८४ लाख ३६ हजार रुपियाँ बीमा माग दाबी गरिएको र अन्य छवटा बीमाको एक करोड ५३ लाख तीन हजार रुपियाँ बीमा माग दाबी परेको बीमा समितिले जनाएको छ ।