२०८० असोज ११ बिहीबार

पाको न्यूरोडस्थित जुवा अखडामा प्रहरीको छापा

पाको न्यूरोडस्थित जुवा अखडामा प्रहरीको छापा
२०७८ जेठ २१ शुक्रबार Author: kachapate

काठमाडौँ, जेठ २१ गते । पाको न्यूरोडस्थित जुवा अखडामा प्रहरीले शुक्रवार दिउँसो छापामारी १५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट १३ लाख ४३ हजार बरामद भएको छ ।

मेडिकल जन्य सामग्री सप्लायर्स सूचना टाँसिएका दुईटा कार र मोटरसाइकलहरु पाको सडकमा दिनभर पर्किङ हुने गरेको सूचनाका आधारमा प्रहरीले स्थानीय पूर्णलाल महर्जनको घरको छैठौ तलामा छापा मारेको हो ।

महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त जनसेवाको संयुक्त प्रहरी टोली छापामार्न जुवाखाल पुग्दा भागदौड मच्चिएको थियो । भाग्ने क्रममा बाफलका ४५ वर्षीय ज्ञानभक्त बलामीको खुट्टा भाँचिएको छ ।केही सामान्य घाइते भएका छन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका अनुसार, घाइते बलामीको अवस्था सामान्य रहेको छ । अन्यलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी परिसर प्रवक्ता रमेश बस्नेतले पक्राउ अभियुक्तहरु कोभिड–१९ महामारीमा पनि कार र मोटरसाइकलको अगाडि पछाडि ‘मेडिकल’ लेखिएको कागज टाँसेर जुवा खेल्न न्यूरोड पुग्ने गरेको जानकारी दिनुभयो ।प्रहरीले जुवाअखडा सञ्चालक अजय श्रेष्ठलाई भने पक्राउ गरेको छैन । एक फल्याट भाडा लिई जुवा र कौडा खेलाउदै आएका श्रेष्ठ घटनास्थलमा फेला नपरेकाले खोजी भइरहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मनहराका विनोद कार्की, बौद्धका अजय लामा, मनमैजुका मुरारी भण्डारी, कौशलटारका विशाल चापागाई, कलंकीका राजु मोक्तान, बुढानिलकण्ठका छिरिङ लामा र न्यूरोडका संजीव श्रेष्ठ छन् ।त्यस्तैं, चोभारका सुमन कार्की, सतुङ्गलका भरत इटनी, गोठाटारका कल्याण कार्की, सीतापाईलाका कुमार लामिछाने, ललितपुरका नरेन्द महर्जन, टेकुका सुमन खडका र पन्चनारायण महर्जन पक्राउ परेका छन् ।

छुट्टाछुट्टै जुवा खाल बनाएर विहानदेखि साँझसम्म नियमित रुपमा जुवा खेलाउने गरेको दावी प्रहरीको छ । पक्राउ परेकाहरु मेडिकजन्य व्यवसायमा आवद्ध नभएको प्रहरीको अनुसन्धानले देखाएको छ ।गोरखापत्र