२०८१ बैशाख ८ शनिवार

खनाल-नेपालसहित एमालेका ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

खनाल-नेपालसहित एमालेका ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
२०७८ जेठ ८ शनिवार Author: kachapate

काठमाडौं, जेठ ८ गते । सत्तारुढ दल नेकपा (एमाले)ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दैपहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

स्पष्टीकरण सोधिनेमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।

नेपाल पक्षका २६ सांसद्ले शुक्रबार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।जसमध्ये केही सांसदले हस्ताक्षर दुरुपयोग भएको बताएका थिए। हस्ताक्षर दुरुपयोग गरेको भनेर आरोप लगाउने सांसदसँग भने स्पष्टीकरण मागिएको छैन। बैठकले कोरोना भाइरसविरुद्धको लडाइँमा ध्यान केन्द्रित गर्ने निर्णयसमेत गरेको छ।

ज्ञवालीका अनुसार स्पष्टीकरणको जवाफका आधारमा पार्टीले थप निर्णय गर्नेछ। जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत गम्भीरतापूर्वक समिक्षा भएको नेताहरुले बताउनुभएको छ । त्यस्तै, कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।