२०८१ बैशाख १२ बुधबार

परीक्षा नहुँदै अनलाइन माध्यमबाट दोस्रो वर्षको अध्यापन !

परीक्षा नहुँदै अनलाइन माध्यमबाट दोस्रो वर्षको अध्यापन !
२०७८ जेठ ४ मङ्गलबार Author: kachapate

काठमाडौँ, जेठ ४ गते ।त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा सीमित मात्र जोडिएका छन् ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा सुरु भएको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ ।पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

विश्वविद्यालयले यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको जनाइएको छ । पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको जनाइएको छ । पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ । यस हिसाबले उनीहरूको समय खेर जाने अवस्था रहेको जनाइएको छ । दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन् । नयाँ भर्ना भएका विद्यार्थीको पनि अनलाइन कक्षा सुरु गरिएको जनाइएको छ ।

विश्वविद्यालयले सङ्क्रमणले कति समय असर गर्छ भन्ने कुरा यकिन गर्न नसकिने भएकाले अवस्था सामान्य भएलगत्तैै स्थगित भएका विद्यार्थीको परीक्षा सामाजिक दूरी कायम गरेर लिने तयारी भइरहेको जनाइएको छ ।यसैबीच विश्वविद्यालयले स्नातकोत्तर तहमा अनलाइन माध्यमबाट विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ ।

यस क्रममा विज्ञान तथा शिक्षाशास्त्र सङ्कायले अनलाइनबाटै भर्नाको तयारी सुरु गरिसकेका हुन् । विज्ञान सङ्कायले जेठभरि फाराम भरेर असारमा प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । मानविकी तथा व्यवस्थापनमा परीक्षाफल प्रकाशन हुन बाँकी रहेकाले भर्ना खुल्न सकेको छैन ।मानविकी सङ्कायमा स्नातक तह तेस्रो वर्ष तथा व्यवस्थापनमा चौथो वर्षको नतिजा प्रकाशन हुन सकेको छैन ।ती दुवै तहको परीक्षाफल छिटो प्रकाशन गर्ने तयारी भइरहेको जानकारी नियन्त्रक जोशीले दिनुभयो ।