काठमाडौं, जेठ ३ गते । सर्बोच्च अदालतले जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै उनीहरुलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै जेठ १६ गतेलाई पेसी तोकिएको छ ।
प्रदेश सांसदबाट हटाइएका जनता समाजवादी पार्टीका चारजनाले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको थियो । सांसद सन्तोषकुमार पाण्डेलगायत चार जनाले दर्ता गरेको निवेदनमा आफूहरुमाथिको कारबाही बदर हुनुपर्ने माग छ ।
जसपाका महन्थ ठाकुर पक्षीय प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझी, विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई सभामुख पूर्णवहादुर घर्तीले वैशाख १७ गते पदमुक्त गर्नु भएको थियो ।