काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतवार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिनुभएको हो ।
सिसिएमसीले अक्सिजन उद्योगले खपत गरेका विद्युत महसुलमा छुट दिने, भारतबाट निर्यात गरिदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने , ट्याङकर र सिलिण्डर आपूर्ति बढाउने लगायतका निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘प्रधानमन्त्रीले प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान हुँदैन भन्नुभएको छ । प्रक्रिया झन्झटिला छन् भने छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्यापिड रेस्पोन्स टिम बनाउनुहोस् तर हर हालतमा नागरिकको जीवन रक्षा हुनुपर्यो उहाँले भन्नुभएको छ ।’
बैठकमा कोभिड १९ सङ्क्रमणको महामारीसँग प्रभावकारी ढङ्गले लड्नका लागि स्वास्थ्य सङ्कटकाल लगाउनेबारे पनि छलफल भएको जानकारी दिनुभयो ।कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या हेर्दा अघिल्लो सातामा ५६ हजार र यो साता ६३ हजार पुगेको थियो भने ३ दिनदेखिको तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या कम हुदै गएपछि सङ्क्रमणको ग्राफ कम हुँदै जाने विश्वास सरकारले लिएको छ ।