२०८० मंसिर २३ शनिवार

देशको संकट हल गर्न सबै दलको सहभागिता : डा.बाबुराम भट्टराई

देशको संकट हल गर्न सबै दलको सहभागिता  : डा.बाबुराम भट्टराई
२०७८ बैशाख २९ बुधबार Author: kachapate

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताएका छन् । बुधबार ट्वीट गर्दै उनले देशको संकट समाधान गर्न एक वर्षमा चुनाव गराउन प्रस्ताव अघि सारेका हुन्।

यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने भट्टराईको भनाइ छ ।भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनले सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने, पूर्व प्रधानमन्त्रीबाहेकको नेतृत्व सरकार बनाउनुपर्ने, दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति गठन गर्नुपर्ने, कोरोना नियन्त्रण, द्वन्द्वकालीन मुद्धा, संविधान संशोधन र आर्थिक राहतलगायत लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ ।त्यस्तैगरि संसद्को निर्णायक खेलाडी जसपामा दुई धार देखिएको छ।उपेन्द्र यादव विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन्।जसले गर्दा आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्‍याउन कठिन भएको हो ।

ठाकुर–महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन ।त्रिशंकु संसद्को अंकगणितमा बढि सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ। उसले जसलाई समर्थन गर्‍यो उसकै सरकार बन्‍ने अवस्था छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा आफ्नो दावी पेश गर्न आह्वान गरेकी छन्।