२०८० चैत १५ बिहीबार

दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश

दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न सर्वोच्चको आदेश
२०७८ बैशाख २४ शुक्रबार Author: kachapate

काठमाडौँ, २४ बैशाख । सर्वोच्च अदालतले भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पुर्पक्ष थुनाको साटो पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतले बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेका उनीमाथि प्रारम्भिक सुनुवाइमै ‘हुनसक्ने दण्ड र सजायलाई दृष्टिगत गरी’ थुनामा राख्न आदेश दिएको थियो ।विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण सापकोटाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

२०७२ साल चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका बस्न्यात २०७४ साल जेठ ८ अख्तियारको प्रमुख आयुक्त बनेर २०७४ साल माघ २८ गते अवकाश पाएका थिए ।आफ्नै पूर्वप्रमुखविरुद्ध अख्तियारले मुद्दा चलाएको यो पहिलो घटना हो ।

बस्न्यातमाथि भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिकानाममा लैजाने निर्णय मन्त्रिपरिषदमा लैजान तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसमक्ष फाइल पेस गरेको आरोप छ ।

उनी सरहका अरु प्रतिवादीहरु साधारण तारिखमा वा धरैटीमा छुटेको भन्दै सर्वोच्च अदालतले मानवीय दृष्टिले अनुचित हुने भन्दै धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा बस्न्यात ६९ वर्षको ज्येष्ठ नागरिक रहेको, मुटु सम्बन्धि समस्या रहेको, परिवारका सदस्यलाई कोरोना संक्रमण भएको लगायतका कारणले थुनामा राख्न उचित नदेखिएको उल्लेख छ ।