२०८० मंसिर २३ शनिवार

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस

भारतसँग जोडिएका ३५ मध्ये २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस
२०७८ बैशाख १८ शनिवार Author: kachapate

काठमाडौं ,कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सीसीएमसीले भारतबाट आउने धेरै व्यक्तिमा संक्रमण देखिएपछि भारतसँगका २२ नाका बन्द गर्न सिफारिस गरेको छ । सिसिएमसीको शुक्रबारको बैठकले नाकाबाट भित्रनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाउन सिफारिस गरेको छ।
कोरोना संक्रमणको दोस्रो लहर जिल्लाजिल्लासम्म फैलिएकोले शुक्रबारसम्म अत्यधिक प्रभावित २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा प्रदेश नम्बर १ को झापा र सुनसरीमा निषेधाज्ञाको निर्णय भएको छ । झापामा आइतबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ भने सुनसरीमा शुक्रबार रातिदेखि पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।

प्रदेश नम्बर २ को पर्सामा र बागमती प्रदेशमा उपत्यकाबाहेक चितवनमा निषेधाज्ञा गरिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयको उच्च जोखिमको सुचिमा भएको काभ्रे र मकवानपुर जिल्लामा निषेधाज्ञाको तयारी भइरहेको छ ।

लुम्बिनीको बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा लागू भइसकेको छ भने बर्दियामा आंशिक मात्र रहेकोमा २० वैशाखदेखि जिल्लाभरि नै लागू गर्ने निर्णय भइसकेको छ । गण्डकीको कास्कीमा जिल्लाभर तथा बाग्लुङको बाग्लुङ नगरपालिकामा धेरै संक्रमण देखिएका वडा नम्बर १२, १३ र १४ वडामा निषेधाज्ञा लागू गरिएको छ ।

कर्णालीका सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोटमा जिल्लाभर तथा कालिकोटको खाँक्राचक्र गाउँपालिकाको वडा नम्बर ११ मा मात्र निषेधाज्ञा लागू गरिएको छ ।त्यस्तै, सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेल्धुरामा जिल्लाभर तथा दार्चुलाको मार्मा गाउँपालिका, व्यास गाउँपालिकाको वडा नम्बर ६ र शैल्यशिखर नगरपालिकाको अधिकांश वडामा निषेधाज्ञा जारी गरिएको छ ।