भेरी–भेरी अस्पताल नेपालगंजमा कार्यरत ७ चिकित्सकसहित ओटी ,पारामेडिक,आईसीयूका ७० जना कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमा ७ जना इमर्जेन्सी चिकित्सक छन् । डा.राजन पाण्डे अनुसार बिरामीले बेड नपाइरहेको बेला चिकित्सकलाई अस्पतालमा बस्न कठिन छ । उनी भन्छन् ,“हामीले नर्मल बिरामीलाई भर्ना लिएका छैनौँ । अस्पतालमा कोरोना संक्रमित बिरामीको लागि २ सय बेड बनाइएको छ । उपचार सामाग्री भन्दा पनि प्रमुख जनशक्तिको अभाव छ । ”
अस्पताल प्रमुख डा.प्रकाश थापाका अनुसार माहामारी सुरु भएदेखी नै कम जनशक्ति र स्रोतसाधनका अभावका बीच भएपनी करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् । कोरोना उपचारका लागि छुट्टाइएका चिकित्सक तथा नर्सहरु आइसोलेसनमा बस्ने र निको भएपछि निरन्तर काम गरिरहेका छन् । “अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक ढिलो चाँडो भएपनि संक्रमित हुने सम्भावना हुन्छ नै । बिरामी नछोएर उपचार सम्भव नै छैन । हामी बिरामीलाई कसरी बचाऊँ भन्ने मनसायले काम गरिरहेका हु्न्छौँ । अस्पतालमा पीपीई ,मास्क ,पञ्जालगायत अन्य आवश्यक सामाग्री चाही पर्याप्त छैन ।”कोभिड वार्डकी नर्स इन्चार्ज भन्छिन् ।
अस्पताल मा भर्ना भएका बिरामीमध्ये कोभिडका बिरामी ६० जना आईसियू र १० जना भेन्टिलेटरमा छन् । नेपालगंज मेडिकल कलेज काोहलपुरमा हाल ५० जना संक्रमित उपचाररत छन् जसमध्ये २८ जनाको गम्भीर स्थितिमा छन् । अस्पतालका उपनिर्देशक डा.दिनेश श्रेष्ठ अनुसार क्रिटिकल अवस्थामा रहेका एक चिकित्सक अस्पतालमै उपचारत छन् । उनी भन्छन् ,“उक्त अस्पतालमा चिकित्सक सहित ५५० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।स्वास्थ्यकर्मी नै संक्रमित हुँदा स्थिति गम्भिर छ । कोहलपुरमा हाल १ सय ५० बेडका कोभिड वार्ड बनाइएको छ भने अक्सिजनसहित १०० बेड छन् जसलाई दुई दिनमा २५० पुर्याइनेछ ।”
भेरी अस्पताल नेपालगंजका फिजिसिएन डा.संकेत घिमिरे भन्छन् ,“गत वर्ष स्वास्थ्यकर्मीलाई सेवा सुविधा दिने कृुरासमेत सरकारले कार्यान्वयन नगरे पनि स्वास्थ्यकर्मी आफ्नो कामबाट विमुख नभएर मनोबल कायम राखेर बिरामीका उपचार गरिराखेका छन् । सुविधाको लाभ भन्दा पनि सेवाभावले स्वास्थ्यकर्मी बिरामीको सेवामा दिनरात खटेका छन् ।”