सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । र्भावस्थामा हुनसक्ने सम्भावित जोखिमबाट बच्न वा गर्भको बच्चाको स्वस्थ्य सही राख्नका लागि पनि गर्भवतीले आफ्नो शारीरिक स्वास्थ्य र तन्दुरुस्तीमा जोड दिनुपर्छ। अतः गर्भावस्थामा कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने त ?
ब्रह्ममुहूर्तमा उठ्ने : कतिपयलाई बिहान उठ्न अल्छी लाग्छ । यद्यपि शारीरिक एवं मानसिक स्वास्थ्यका लागि बिहान चाँडै उठ्नु जरुरी छ । अझ सूर्योदयअघि । बिहान ४ बजेदेखि सूर्योदयअघिको समयलाई ब्रह्ममुहूर्त भनिन्छ । यसबेला वायुमण्डलमा शुद्ध वायु चलिरहेको हुन्छ, जसलाई प्राणवायु भनिन्छ। बिहान ४ बजेको आसपासमा उठ्ने र खुला हावामा हिँडडुल गर्ने अभ्यास एकदमै उचित हुन्छ ।
नियमित प्राणायाम : यस क्षणमा गहिरो सास लिने, छाड्ने अभ्यास गर्नु उचित हुन्छ । यसले शरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन पाउँछ । यो आमा र बच्चा दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कुनै पनि समयमा गहिरो सास लिने र छाड्ने अभ्यास गर्न सकिन्छ । सकेसम्म शान्त र हरियाली वातावरणमा बसेर यस्तो अभ्यास गर्न सकिन्छ । त्यसो त घरमै काम गरिरहेको बखत, विश्राम गरिरहेको बखत पनि यो अभ्यास गर्न सकिन्छ ।
अनुलोम बिलोम: प्राणायामकै एक सरल र उत्कृष्ट विधि हो यो पनि । एउटा नाक बन्द गर्ने, अर्को नाकले गहिरो सास लिने । उक्त नाक बन्द गरेर अर्को नाकले सास छाड्ने । पुनः सास छाडेको नाकले सास लिने । यही क्रिया निरन्तर गर्ने । अनुलोम बिलोम कुनै पनि क्षणमा गर्न सकिन्छ । यस क्रियाले हाम्रो फोक्सोको कार्यक्षमता बढाउँछ ।
मनतातो पानीले नुहाउने : गर्मी मौसम छ । त्यसैले सम्भव भएसम्म दिनदिनै नुहाउनु उचित हुन्छ । मनतातो पानीमा नुन मिसाएर नुहाउनु उत्तम हो । यसबेला शारीरिक सरसफाइमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यसैले नियमित नुहाउनु राम्रो हो ।
घामको न्यानो : यतिबेला बिहानको घाममा शरीरलाई न्यानो बनाउनु उचित हुन्छ । कम्तीमा १० मिनेट भए पनि घामको तापमा बस्नुपर्छ । यसले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । गर्भावस्थामा भिटामिन डी एकदमै आवश्यक हुन्छ ।
मौसमी सागपात र फलफूल : मौसमी खानपानमा जोड दिनुपर्छ । सलाद, सागपात, फलफूल, झोलिलो पदार्थ खानेकुरामा सामेल गर्नुपर्छ । खरबुजाजस्ता फलफूलको सेवनले निकै फाइदा गर्छ । नियमित एक गिलास शुद्ध दूध पिउनु उचित हुन्छ ।
भोक लागेकोभन्दा केही कम खाने : जब भोक लाग्छ पेटभर खानु ठिक हुन्न । समयसमयमा खाइरहनुपर्छ, जसले गर्दा सहजै पच्न सकोस् । जति भोक लागेको छ, त्योभन्दा केही कम खानेकुरा खानुपर्छ । खाना सुपाच्य र पोषिलो हुन जरुरी छ ।
सक्रिय रहने : हल्का काम गरेर भए पनि शरीरलाई सक्रिय राख्ने । भारी काम गर्न उचित हुँदैन । यद्यपि सामान्य कामहरू गरेर शरीरलाई फूर्तिलो राख्न सकिन्छ।
ध्यानको अभ्यास :ध्यानले मनलाई शान्ति दिन्छ । बेचैनी, तनाव, डर हटाउँछ । ध्यान मुद्रामा बसेर आफ्नो श्वासप्रश्वास प्रक्रियामा ध्यान केन्द्रित गर्ने । दैनिक १०–१५ मिनेट भए पनि ध्यानको अभ्यास गर्न सकिन्छ ।
संगीत सुन्ने, मनोरञ्जन गर्ने : सकेसम्म आफूलाई रमाइलो माहोलमा राख्ने प्रयास गरौं । रोमान्टिक गीतहरू सुन्ने, फिल्महरू हेर्ने, पुस्तक पढ्ने गरौं । यसले मनलाई आनन्दित तुल्याउँछ । नकारात्मक भाव आउन दिँदैन । दुःख र भय हटाउँछ।